यमनस्थित इरान समर्थित हुथी विद्रोही सरकारले शनिबार घोषणा गरे अनुसार यसै साताको सुरुमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा उनीहरूका प्रधानमन्त्री अहमद घलेब नासेर अल–राहावीको मृत्यु भएको छ।
गत वर्ष मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका राहावी गाजामा जारी युद्धको सन्दर्भमा इजरायलको आक्रमणमा मारिएका हालसम्मका सबैभन्दा वरिष्ठ हुथी अधिकारी हुन्। हुथी विद्रोहीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,
“हामी प्रधानमन्त्री नासेर अल–राहावीको शहादतको घोषणा गर्दछौँ। शत्रु इजरायलले उनलाई र उनका मन्त्रिपरिषद्का कैयौँ सहकर्मीलाई लक्षित प्रहार गर्दा उनीहरूले शहादत प्राप्त गरेका छन्।”
हुथी विज्ञप्तिअनुसार आक्रमणमा राहावी मात्र नभई उनका केही निकट अधिकारीहरूको समेत मृत्यु भएको छ। यस्तै, अन्य धेरै जना सामान्यदेखि गम्भीर घाइते भएका र उनीहरूको उपचार बिहीबार दिउँसोदेखि जारी रहेको पनि उल्लेख गरिएको छ।
इजरायली सेनाले बिहीबार हुथीहरूको नियन्त्रणमा रहेको राजधानी साना क्षेत्रमा आक्रमण गरेको थियो। इजरायलले आक्रमणलाई “हुथी शासनका सैन्य लक्ष्यहरूविरुद्ध गरिएको कारबाही” को रुपमा व्याख्या गरेको थियो।
गाजा युद्ध सुरु भएयता हुथी विद्रोहीहरूले फिलिस्तिनी जनताप्रति ऐक्यवद्धता जनाउँदै बारम्बार इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दै आएका छन्। यसका कारण इजरायलले हुथी शक्तिलाई प्रत्यक्ष खतराको रूपमा लिएको बताउँदै आएको छ।
त्यस्तै, हुथी विद्रोहीहरूले ‘रेड सी’ र एडेन खाडीमार्फत आवतजावत गर्ने व्यापारीक जहाजहरूलाई पनि आक्रमण गर्ने गरेका छन्। उनीहरूले ती जहाजहरूलाई “इजरायलसँग जोडिएका” भन्दै निशाना बनाएको दाबी गर्ने गरेका छन्।
हुथी समूहले सन् २०१४ देखि यमनको ठूलो भूभागलाई आफ्नो नियन्त्रणमा लिएको छ। लगातार युद्धको चपेटामा परेको यमन आजसम्म शान्ति सम्झौताबाट टाढै छ।
हुथी विद्रोहीहरू मध्यपूर्वमा रहेका इरान समर्थित इजरायल विरोधी गठबन्धनको सक्रिय सदस्य मानिन्छन्। यस गठबन्धनमा हिज्बुल्लाहदेखि गाजामा रहेका विभिन्न सशस्त्र समूहसम्म सामेल छन्।
प्रधानमन्त्री राहावीको मृत्युले यमनको आन्तरिक राजनीतिक स्थिरतामा थप चुनौती सिर्जना गर्ने देखिन्छ। यससँगै मध्यपूर्वमा इजरायल र इरान समर्थित समूहबीचको द्वन्द्व अझ चर्किने सम्भावना पनि विशेषज्ञहरूले बताएका छन्।
यमनबाट यस समुहले इजरायलमा लगातार क्षेप्यास्त्र प्रहार गरिरहेका छन । गत साता मात्र यमनका हुथि विद्रोही समुहले इजरायलको तेल अभिभमा क्लस्टर बमयुक्त हाइपर सोनीक व्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, यस घटनाबाट इजरायल क्रुद्ध बनेको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com

























