इरान र अमेरिकाबीचको आणविक वार्ताले महत्त्वपूर्ण मोड लिएको छ। वार्ताको पछिल्लो चरणका लागि इरानी प्रतिनिधिमण्डल कतारको राजधानी दोहा पुगेको छ, जहाँ इरानी विदेशमन्त्री अब्बास अराघची, संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ र केन्द्रीय बैंकका गभर्नरसहितको उच्चस्तरीय टोलीले कतारका प्रधानमन्त्री एवं विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेटवार्ता गर्दैछ।
दोहाको वार्तामा मुख्यतः चार विषय केन्द्रमा छन् — इरानको आणविक कार्यक्रम, हर्मुज जलमार्गको सुरक्षा, उच्च समृद्ध युरेनियमको भविष्य र विदेशमा रोक्का रहेको इरानी सम्पत्तिको फुकुवा।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ता सकारात्मक दिशामा अघि बढेको संकेत दिँदै आजै सम्झौता हुन सक्ने सम्भावना औंल्याएका छन्। तर अमेरिकी अधिकारीहरूका अनुसार आणविक गतिविधि नियन्त्रण र प्रतिबन्ध हटाउने प्रक्रियाका केही प्राविधिक तथा भाषिक विषयमा अझै सहमति कायम हुन बाँकी नै छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको उच्च समृद्ध युरेनियम पूर्णतः नष्ट गरिनुपर्ने वा अन्तर्राष्ट्रिय निगरानीमा राखिनुपर्ने अडान दोहोर्याएका छन्। कूटनीतिक वृत्तमा भने इरानले युरेनियमको सान्द्रता घटाउने वा तेस्रो मुलुकमा पठाउने विकल्पमाथि छलफल भइरहेको चर्चा छ।
इरानमा इन्टरनेट प्रतिबन्ध हट्यो
वार्ताको यस चरणसँगै इरानमा आन्तरिक रूपमा पनि एक उल्लेखनीय निर्णय भएको छ। राष्ट्रपति मसुद पेजेस्कियनले ८७ दिनदेखि जारी इन्टरनेट अवरोध अन्त्य गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएका छन्। यस दीर्घकालीन प्रतिबन्धले सर्वसाधारण नागरिकदेखि व्यावसायिक क्षेत्रसम्मलाई व्यापक रूपमा प्रभावित पारेको थियो।
मध्यपूर्वमा तनाव झन् बढ्दो
वार्ता मेजमा कूटनीतिक प्रयास जारी रहँदा मध्यपूर्वको भूमिमा भने अवस्था थप जटिल बन्दै गएको छ। इजरायल र इरान समर्थित हिज्बुल्लाहबीचको तनाव चर्किएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सैन्य अभियान थप तीव्र पार्न आदेश दिएका छन्। इजरायली सेनाले लेबनानका ७० भन्दा बढी पूर्वाधार लक्ष्यमा आक्रमण गरेको जनाएको छ, जसमा पछिल्ला महिनाहरूमा मात्रै तीन हजारभन्दा बढी नागरिकको ज्यान गएको छ।
गाजामा भने इजरायली सेनाले हमाससँग आबद्ध भनिएका मोहम्मद अबु मल्लुह मारिएको दाबी गरेको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com























