संयुक्त राष्ट्र संघ, न्युयोर्क संयुक्त राष्ट्र संघका वर्तमान महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल ३१ डिसेम्बर २०२६ मा समाप्त हुँदैछ। यससँगै विश्वकै सर्वोच्च कूटनीतिक पदका लागि चार जना प्रमुख उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । सन् २०१६ मा १३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा यसपटक यो संख्या खुम्चिएर ४ मा झरेको छ, जसलाई विश्व राजनीतिमा बढ्दो कूटनीतिक जोखिमको संकेतका रूपमा हेरिएको छ ।
मैदानमा रहेका चार प्रभावशाली व्यक्तित्वहरू
वर्तमान महासचिवका लागि प्रस्तावित चारै जना उम्मेदवारहरू उच्च राजनीतिक र कूटनीतिक पृष्ठभूमि भएका व्यक्तित्व हुन्:
१. मिसेल ब्याचेलेट (चिली): उनी चिलीकी पूर्वराष्ट्रपति हुन् र सन् २००६ मा आफ्नो देशको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । उनले यसअघि संयुक्त राष्ट्र संघको मानव अधिकार प्रमुखका रूपमा समेत जिम्मेवारी सम्हालिसकेकी छन् । ७४ वर्षीया ब्याचेलेट चिलीका पूर्व तानाशाह अगस्टो पिनोचेटको शासनकालमा क्रूर यातना भोगेकी एक समाजवादी राजनीतिज्ञ हुन् । उनलाई यसपटक आफ्नो देश चिलीको सट्टा ब्राजिल र मेक्सिकोले समर्थन गरेका छन् ।
२. राफेल ग्रोसी (अर्जेन्टिना): ६५ वर्षीय ग्रोसी अर्जेन्टिनाका एक करियर कूटनीतिज्ञ हुन् । उनले सन् २०१९ देखि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को महानिर्देशकको रूपमा नेतृत्व गरिरहेका छन् । उनले इरानको आणविक कार्यक्रम र युक्रेनमा रुसको कब्जामा रहेको जापोरिजिया आणविक संयन्त्र जस्ता जटिल मुद्दाहरूमा महत्वपूर्ण भूमिका खेलेका छन्, जसका कारण उनलाई अमेरिका र रुस दुवैले नजिकबाट नियालिरहेका छन्।
३. रेबेका ग्रिन्स्पान (कोस्टारिका): ७० वर्षीया ग्रिन्स्पान कोस्टारिकाकी पूर्व उपराष्ट्रपति र अर्थशास्त्री हुन् । हाल उनी संयुक्त राष्ट्र संघीय व्यापार र विकास निकाय (UNCTAD) को नेतृत्व गरिरहेकी छन् । उनले रुस-युक्रेन युद्धको समयमा खाद्यान्न निर्यातका लागि ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ सम्झौता गराउन सफल कूटनीतिक भूमिका निर्वाह गरेकी थिइन् । उनी हलोकस्टबाट बचेर कोस्टारिका बसाइँ सरेका यहुदी आमाबुबाकी छोरी हुन् ।
४. म्याकी सल (सेनेगल): ६४ वर्षीय सल सेनेगलका पूर्वराष्ट्रपति हुन् र उनी ल्याटिन अमेरिका बाहिरका एकमात्र उम्मेदवार हुन् । उनलाई अफ्रिकी संघको वर्तमान अध्यक्ष राष्ट्र बुरुन्डीले प्रस्ताव गरेको हो, यद्यपि उनलाई आफ्नै देश सेनेगलले औपचारिक समर्थन दिइसकेको छैन । उनले शान्ति र विकासबीचको सम्बन्धलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
संस्थाभित्रको संकट र चुनौतीहरू
नयाँ महासचिवले यस्तो समयमा पदभार ग्रहण गर्नेछन्, जब संयुक्त राष्ट्र संघ गहिरो वित्तीय संकट (“वित्तीय आर्मागेडन”) र गम्भीर वैश्विक अस्थिरताबाट गुज्रिरहेको छ । अमेरिकाले आफ्नो बक्यौता रकम तिर्न अस्वीकार गरेका कारण संस्था बजेटको ठूलो दबाबमा छ । साथै, युक्रेन र गाजा जस्ता युद्धहरूमा प्रभावकारी भूमिका खेल्न नसक्दा संस्थाको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ ।
सबै उम्मेदवारहरूले विभाजित विश्वमा विश्वास पुनर्स्थापित गर्ने र संयुक्त राष्ट्र संघको स्थापनाकालीन प्रतिज्ञा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चयन प्रक्रिया र भू-राजनीति
संयुक्त राष्ट्र संघको पारदर्शी प्रक्रियाअनुसार १९३ सदस्य राष्ट्र र गैर-सरकारी संस्थाहरूले उम्मेदवारहरूलाई तीन घण्टासम्म प्रश्न सोध्ने कार्यक्रम तय गरिएको छ । यो २०१६ पछि सुरु गरिएको पारदर्शिता अभिवृद्धिको दोस्रो अभ्यास हो ।
महासचिव चयनमा सुरक्षा परिषद्का पाँच स्थायी सदस्य (पी-फाइभ: अमेरिका, चीन, रुस, फ्रान्स र बेलायत) को भिटो शक्ति निर्णायक हुन्छ । अमेरिकी दूत माइक वाल्ट्जले आगामी प्रमुख “अमेरिकी मूल्य र स्वार्थ” सँग मिल्दो हुनुपर्ने चेतावनी दिएका छन्। यद्यपि धेरैले यसपटक ल्याटिन अमेरिकाको पालो भएको र महिला महासचिव हुनुपर्ने तर्क गरिरहेका छन्, तर शक्ति राष्ट्रहरूको स्वार्थ नै यस पदका लागि निर्णायक हुने देखिन्छ ।
उम्मेदवारहरूले कम्तीमा एक सदस्य राष्ट्रको समर्थन पाउनुपर्ने र पी-फाइभ राष्ट्रका नागरिक उम्मेदवार हुन नपाउने जस्ता अघोषित नियमहरू यस प्रक्रियामा लागू छन् ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























