इरानले हालका लागि अमेरिकासँग वार्ता नगर्ने बताएको छ, जसले पाकिस्तानको मध्यस्थता प्रयासमा शंका उत्पन्न गरेको छ । युद्धविरामको समयसीमा समाप्त हुनुभन्दा २ दिनभन्दा कम समय बाँकी छँदा इरानले इस्लामाबादमा वार्ता टोली पठाउने आफ्नो कुनै योजना नभएको संकेत दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईका अनुसार अमेरिकाले अप्रिल १३ देखि हर्मुज जलडमरू (Strait of Hormuz) मा गरेको नौसैनिक घेराबन्दी र इरानी कन्टेनर जहाज कब्जा गरेर सुरुदेखि नै युद्धविराम र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ ।
इरानले चेतावनी दिएको छ कि यदि अमेरिका र इजरायलले फेरि आक्रमण गरेमा इरानी सेनाले उचित जवाफ दिन तयार छ । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिहरू वार्ताका लागि पाकिस्तान जाँदै गरेको घोषणा गरे पनि, इरानका ऊर्जा र विद्युत सुविधाहरूमा बमबारी गर्ने धम्कीलाई फेरि दोहोर्याएका छन् । ट्रम्पले इरानले युद्धविराम सम्झौताको “पूर्ण उल्लंघन” गरेको आरोप लगाउँदै इरानका हरेक पावर प्लान्ट र पुल ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
अमेरिकी नौसेनाले ‘टुस्का’ (Touska) नामक इरानी मालवाहक जहाजलाई ओमानको खाडीमा कब्जा गरेको छ । ट्रम्पका अनुसार जहाज नरोकेपछि त्यसको इन्जिन रुममा प्वाल पारेर अमेरिकी मरीनहरूले त्यसलाई नियन्त्रणमा लिएका छन् । इरानले यस कार्यलाई “समुद्री डकैती” (piracy) को संज्ञा दिएको छ । इरानका अनुसार अमेरिकाको यो नौसैनिक घेराबन्दीले वार्ताको प्रगतिमा बाधा पुर्याएको छ ।
पाकिस्तानमा भने मध्यस्थता र शान्तिवार्ताको व्यापक तयारी:
पाकिस्तानले यो युद्ध अन्त्य गराउन मुख्य मध्यस्थकर्ताको रूपमा ठूलो तयारी गरेको छ। इस्लामाबादका प्रमुख होटलहरू (मेरियट र सेरेना) खाली गराइएका छन् र “रेड जोन” मा सुरक्षा कडा पारिएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले इरानी राष्ट्रपति मसउद पेजेस्कियानसँग ४५ मिनेट टेलिफोन वार्ता गरी संवाद र कूटनीतिमा जोड दिएका छन् । पाकिस्तानको लक्ष्य दुवै पक्षलाई केही दिनसम्म वार्तामा राखेर एउटा समझदारी पत्र (MoU) मा हस्ताक्षर गराउनु हो, जसले युद्धविरामलाई कम्तिमा २ महिना सम्म लम्ब्याउन सकोस् ।
अमेरिकी वार्ता टोलीमा उप-राष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नर रहने भनिएको छ, यद्यपि सुरक्षाका कारण भान्सको भ्रमण अझै निश्चित छैन । विश्लेषकहरूका अनुसार इरानले सार्वजनिक रूपमा कडा अडान राखे पनि निजी रूपमा कूटनीतिको बाटो खुला राखेको हुन सक्छ । जहाँ अमेरिका छिटो समाधान चाहन्छ, इरान भने हतार गर्ने पक्षमा देखिँदैन । एक कूटनीतिज्ञका अनुसार, “अमेरिकीहरू स्टपवाच (Stopwatch) लिएर आएका छन् भने इरानीहरू क्यालेन्डर (Calendar) लिएर आएका छन्” ।
शान्तिवार्ताको यो नाटक मन्चन भैरहेको हेर्दा यस हप्ताको वार्ताबाटै दीर्घकालीन सम्झौता हुने सम्भावना देखिदैन । अहिलेको मुख्य लक्ष्य युद्धविरामको म्याद थप गर्नु मात्र हो । यदि यो सम्भव भएमा, यसले भविष्यमा थप जटिल मुद्दाहरूमा छलफल गर्नका लागि राजनीतिक आधार तयार गर्नेछ तर युद्धरत दुवै पक्षको रवैया हेर्दा यो सम्भावना पनि क्षीण हुने देखिन्छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























