काठमाडौँ – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले इरानमाथि गर्ने भनिएको ठूलो बमबारी अभियान दुई हप्ताका लागि स्थगित गरिएको घोषणा गरेका छन्। साथै, अमेरिका र इरानबीच दुई हप्ताको अस्थायी युद्धविराम (ceasefire) मा सहमति भएको पनि उनले बताएका छन्।
युद्धविरामको घोषणापछि पनि इरान र इजरायलबीच आक्रमण भने जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पका अनुसार प्रस्तावित ‘दुईतर्फी युद्धविराम’ Strait of Hormuz सुरक्षित रूपमा खुला गरिने शर्तमा आधारित छ। उक्त जलडमरूमध्य विश्वको अत्यन्तै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिन्छ।
यता पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले युद्धविराम तत्काल लागू भएको र यसले लेबनानसहित अन्य क्षेत्रहरूलाई पनि समेट्ने दाबी गरेका छन्। तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्यहूले भने लेबनान यस सम्झौतामा समावेश नभएको स्पष्ट पारेका छन्।
पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच वार्ता अघि बढ्ने तयारी भइरहेको जनाइएको छ। इरानले प्रस्तुत गरेको १० बुँदे प्रस्तावका आधारमा वार्ता हुने र त्यसले दीर्घकालीन शान्तिको मार्ग तय गर्न सक्ने अपेक्षा गरिएको छ।
यद्यपि, कागजमा युद्धविराम घोषणा भए पनि मैदानमा तनाव कायमै देखिएको छ। युद्धविराम घोषणा लगत्तै इरानले इजरायलतर्फ मिसाइल आक्रमण गरेको र केही व्यक्ति घाइते भएको खबर छ। इजरायलले पनि इरानमाथि आक्रमण जारी राखेको बताइएको छ।
अमेरिका र इरान दुवैले यस अवस्थालाई आफ्नो-आफ्नो जीतका रूपमा व्याख्या गरेका छन्। अमेरिकी पक्षले सैन्य लक्ष्य पूरा भएको दाबी गरेको छ भने इरानले कूटनीतिक सफलता हासिल भएको जनाएको छ।
दुई हप्ताको यो युद्धविरामलाई मध्यपूर्वमा दीर्घकालीन शान्तिको अवसरका रूपमा हेरिएको छ। तर इरानका सर्तहरू, इजरायलको अडान तथा क्षेत्रीय जटिलताका कारण आगामी वार्ता चुनौतीपूर्ण हुने अनुमान गरिएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























