गैर आवासीय नेपाली संग राष्ट्रीय समन्वय परिषद इजरायलको आयोजनामा इजरायलमा कार्यरत नेपाली समुदायलाई लक्षित गर्दै “मानसिक स्वास्थ्य सचेतना” सम्बन्धी एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ। इजरायल, अमेरिका र इरानबीच फेब्रुअरी २८ देखि जारी द्वन्द्व एक महिनासम्म पुग्न लाग्दा समाधानको संकेत देखिनुको सट्टा झनै चर्किंदै गएको अवस्थाले यहाँ रहेका नेपाली कामदारहरूमा चिन्ता र असुरक्षाको अवस्था बढाएको छ।
यस्तो संवेदनशील परिस्थितिमा नेपालीहरूले उच्च सतर्कता अपनाउँदै व्यक्तिगत सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, समुदायभित्र सूचना आदानप्रदान, जोखिमपूर्ण अवस्थाको स्व-समाधान, तथा सम्भावित लापरवाही न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ।
यसै सन्दर्भमा, कुनै पनि अप्रिय घटना हुन नदिन र मानसिक रूपमा सुदृढ रहन सहयोग पुर्याउने उद्देश्यले विशेषज्ञ चिकित्सकको प्रस्तुतीमा सचेतना कार्यक्रम सञ्चालन गरिने व्यहोरा संयोजक दिलिप सुन्दासले जानकारी दिएका छन्। कार्यक्रममा सहभागी भई लाभ लिन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक अनुरोध गरिएको छ।
उक्त कार्यक्रम आगामी ४ अप्रिल २०२६, शनिबार, इजरायल समयअनुसार दिउँसो ४:०० बजे जुम भर्चुअल माध्यममार्फत सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले थप जानकारीका लागि कार्यक्रम संयोजक दिलिप सुन्दास (०५०९३०३७८७) सँग सम्पर्क गर्न सक्नेछन्।
कार्यक्रम गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायलको आयोजनामा सम्पन्न हुने जनाइएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























