एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा असहमति जनाउँदै आफूले यस्तो पहललाई दृढ रूपमा रोक्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
यसैबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजासम्बन्धी अमेरिकाद्वारा तयार पारिएको प्रस्तावमा मतदान गर्नुपर्ने समय नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय कूटनीतिक चहल–पहल तीव्र बनेको छ । प्रस्तावले प्यालेस्टिनी आत्मनिर्णयको सम्भावनालाई खुला राखेकाले यसको राजनीतिक महत्त्व झनै बढेको छ ।
नेतान्याहुले वर्षौंदेखि प्यालेस्टिनी राज्य बन्ने हो भने त्यसले अन्ततः हमासलाई तागत दिन सक्ने र इजरायलको सिमानामा हमासद्वारा सञ्चालित ठूलो राज्यको सम्भावना पैदा हुने दाबी गर्दै आउनुभएको छ । तर अमेरिकाले गाजामा युद्धविरामका लागि परिष्कृत प्रस्ताव अघि बढाउँदा इजरायलमाथि लचिलो देखिन अन्तर्राष्ट्रिय समुदायको तीव्र दबाब परेको छ ।
सुरक्षा परिषद्ले रुस, चीन तथा केही अरब राष्ट्रहरूको कडा आपत्तिका बीच पनि गाजामा अन्तर्राष्ट्रिय स्थायित्वकरण बल तैनाथ गर्ने प्रावधानसहितको अमेरिकी प्रस्तावमा मतदान गर्ने अपेक्षा गरिएको छ ।
हमास तथा अन्य प्यालेस्टिनी समूहहरूले भने उक्त प्रस्तावलाई गाजामा ‘अन्तर्राष्ट्रिय जनादेश’ थोपर्ने कदम भन्दै आपत्ति जनाएका छन् । उनीहरूले प्रस्ताव इजरायलप्रति पक्षपातपूर्ण रहेको र प्यालेस्टिनीलाई आफ्नै मुद्दाहरू व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित गराउने आरोप लगाएका छन् । उनीहरूका अनुसार कुनै पनि स्थायित्वकरण बल प्रत्यक्ष रूपमा संयुक्त राष्ट्रसङ्घको नियन्त्रणमा रहनुपर्ने तथा इजरायललाई त्यो संरचनामा समावेश गर्न नहुने स्पष्ट माग गरिएको छ ।
अमेरिकी प्रस्तावमा गाजालाई निःशस्त्रीकरण गर्ने उल्लेखलाई हमासले कडा रूपमा अस्वीकार गरेको छ । नेतान्याहुले आइतबार आफ्ना मन्त्रीहरूसँगको छलफलमा गाजाको असैन्यीकरण ‘सजिलो वा कठिन दुवै तरिकाले’ गरिने चेतावनी दिनुभएको थियो ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com





































