नेपाल इजरायल डट कम (इजरायल) । हमासको कब्जाबाट फिर्ता गरिएको नेपाली विद्यार्थी विपिन जोशीको शव फरेन्सिक परीक्षणका लागि इजरायलको अबु काबिर फरेन्सिक इन्स्टिच्युट, तेल अविभमा पठाइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार, सोमबार हमासले फिर्ता गरेका चार शवमध्ये विपिनको शव पनि समावेश थियो। उनीसँगै गाइ इलौज, यासी सारबी, र डानिल पिरेजका शव पनि इजरायललाई हस्तान्तरण गरिएको हो।
विपिन जोशी, कञ्चनपुरका २३ वर्षीय कृषि विद्यार्थी, सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्र किब्बुज आलुमिममा गरेको आक्रमणका क्रममा बेपत्ता भएका थिए। अध्ययनका सिलसिलामा इजरायल पुगेका उनी आक्रमणको बेला आफ्ना साथीहरूलाई जोगाउने क्रममा आतंककारीहरूले अपहरण गरेका थिए।
इजरायली अधिकारीहरूले विपिनसहित सबै शवको विस्तृत फरेन्सिक परीक्षण र डीएनए मिलान प्रक्रिया सुरु गरेका छन्।
शव फरेन्सिक इन्स्टिच्युटबाट डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा लगिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।
राजदूत धनप्रसाद पण्डितका अनुसार, “अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) ले शव इजरायली सेनालाई जिम्मा लगाएपछि डिएनए परीक्षण हुँदैछ। रिपोर्ट प्राप्त भएपछि मात्र शव नेपाल पठाउने प्रक्रिया अघि बढाइनेछ।”
उनका अनुसार, इजरायल सरकारले विपिनको शव कफिनमा बन्द गरेर औपचारिक रूपमा नेपाल पठाउने तयारी गरेको छ। यो प्रक्रिया पूरा हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
दुई वर्षपछि आशाको अन्त्य
इजरायलका पूर्वराजदूत हनान गोदरले सामाजिक सञ्जालमार्फत विपिनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लेखेका छन् —
“विपिन अब हामीमाझ रहनुभएन, दुई वर्षको आशा आज समाप्त भयो।”
सन् २०२३ अक्टोबर ७ को आक्रमणमा हमास लडाकुहरूले १० जना नेपाली विद्यार्थीको ज्यान लिएका थिए, भने विपिनलाई अपहरण गरी गाजामा लगेका थिए। त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो।
अब फरेन्सिक र डीएनए रिपोर्ट पूरा भएपछि इजरायल सरकार र नेपाली दूतावासको समन्वयमा विपिनको शव नेपाल पठाइनेछ।
नेपालमा परिवार र समुदायजनले लामो समयदेखि उनको सुरक्षित फिर्तीको आशा राखेका थिए। तर दुई वर्षपछि विपिनको मृत शरीर फिर्ता आउँदा सम्पूर्ण नेपाली समुदाय शोकमग्न भएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com

























