तेल अविव।इजरायल ।
हमासले अपहरण गरेर बेपत्ता पारेका बन्धकहरुको रिहाईको लागि इजरायलको तेल अविवमा भएको विशाल सभामा विपिन रिहाइको माग गर्दै नेपाली समुदाय पनि सहभागी भएका छन । नेपाली युवा विपिन जोशी अक्टोबर ७, २०२३ मा हमासको आक्रमणका क्रममा बन्धक बनेका थिए। ७०२ दिनभन्दा बढी समयदेखि उनको अवस्था अज्ञात छ, तरपनि उनको रिहाइको आशा भने अझै जीवितै छ, र यसका लागि विभिन्न तहबाट पहलहरू जारी छन्।
परिवारको हृदयविदारक अपिल र पहल विपिनकी आमा र बहिनी केही समयअघि इजरायल पुगेर त्यहाँका प्रधानमन्त्री, राष्ट्रपतिलगायतका शीर्ष नेताहरूलाई भेटेका थिए। उनीहरूले आफ्नो पीडा पोख्दै छोरा र दाइलाई फर्काइदिन हार्दिक गुहार गरेका थिए। इजरायलमा रहेका नेपाली समुदायसँग पनि उनीहरूले भेटघाट गरेका थिए। नेपाल फर्किएपछि पनि उनीहरूले नेपालका मन्त्रीहरू र राष्ट्रपतिसम्मलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन्। यति मात्र होइन, विपिनको रिहाइका लागि विदेशका टर्की, कतार र जोर्डनका शासकहरूलाई समेत पत्र पठाइएको समाचार आएको छ। तर, दुःखको कुरा, हालसम्म कुनै ठोस नतिजा भने आउन सकेको छैन।
नेपाली समुदायको सक्रिय सहभागिता र जनदबाव नेपाल सरकारका परराष्ट्र मन्त्री र प्रधानमन्त्रीले विपिनको रिहाइका लागि पहल भइरहेको बताइरहे पनि, हालसम्म कुनै स्पष्ट जानकारी नपाउनुमा जनताले सरकारको कामप्रति असन्तुष्टि पोखिरहेका छन्। नेपाल एक युद्धविरोधी र शान्तिप्रिय मुलुक भएकाले, प्यालेस्टाइनसँगको सम्बन्धलाई उपयोग गर्दै त्यहाँको सरकारसँग प्रत्यक्ष कूटनीतिक पहल गर्न आवश्यक भएको आवाज पनि उठिरहेको छ।
इजरायलको तेल अविवमा विपिन लगायतका सम्पूर्ण बन्धकहरूको रिहाइका लागि हरेक हप्ता र हरेक दिन हुने आन्दोलनहरूमा नेपाली समुदायको बाक्लो उपस्थिति रहने गरेको छ। बन्धक बनेको ७०१ दिन पुगेको दिन पनि आयोजित विशाल आन्दोलनमा नेपालीहरूले राष्ट्रिय झण्डा, विपिनको तस्बिर र ‘BringBipinJoshi’ लेखिएका प्लेकार्ड तथा टि-सर्ट लगाएर सहभागिता जनाएका थिए। यस मानवीय अभियानमा इजरायली नागरिकहरूले पनि सहानुभूतिपूर्वक साथ दिएका छन्। हाल, विपिनसँगै ४८ जना बन्धकहरू हमासको नियन्त्रणमा छन्।
आशा गरौं, विपिन जोशी लगायत सबै बन्धकहरूको शीघ्र र सुरक्षित रिहाइका लागि भइरहेका यी प्रयासहरूले चाँडै सफलता पाउनेछन्।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com