तेलअविव: इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई आर्थिक सहयोग गरेका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायलको प्रमुख पहलमा सङ्कलन भएको १० लाखभन्दा बढी नेपाली रुपैयाँ जोशीको परिवारलाई हस्तान्तरण गरिएको हो।
एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरीका अनुसार, संघको कोषबाट ५ हजार सेकल र अभियानमार्फत् १२ हजार सेकल जम्मा भएको छ। त्यसैगरी, नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष सूर्य रानाका अनुसार, महासंघमा आवद्ध ८ वटा जातीय संस्थाको पहलमा झण्डै १२ हजार सेकल सङ्कलन भएको थियो। व्यक्तिगत तथा अन्य संघसंस्थाबाट प्राप्त सहयोगसमेत गरी हालसम्म १० लाख रुपैयाँ बढी सङ्कलन भएको जनाइएको छ, र सहयोग गर्ने क्रम अझै जारी छ।
करीब २२ महिनाअघि अध्ययन र उज्ज्वल भविष्यको सपना बोकेर इजरायल पुगेका विपिनलाई हमासले अपहरण गरेको थियो। हाल उनको अवस्थाबारे कुनै ठोस जानकारी सार्वजनिक नभए पनि, परिवारजनले उनको सुरक्षित रिहाइका लागि विभिन्न तहमा अपील गर्दै आएका छन्। हालै विपिनकी आमा पदमा र बहिनी पुष्पा इजरायल आएर बन्धकको विषयमा आवाज उठाउनुभएको थियो। उनीहरूको बसाइ, यात्रा खर्च, पुष्पाको पढाइ र परिवारको घरखर्चमा सहजता होस् भन्ने उद्देश्यले नेपाली समुदायले यो सहयोग प्रदान गरेको हो।
समुदायका अगुवाहरूले यसलाई केवल आर्थिक सहयोग नभई परिवारलाई नैतिक समर्थन भएको बताएका छन्। विपिनलाई घर फर्काउन अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्नेमा जोड दिँदै उनीहरूले यसमा नेपाली समुदाय निरन्तर जुट्ने विश्वास व्यक्त गरेका छन्। इजरायलमा बन्धकहरूको रिहाइका लागि जारी प्रदर्शनमा नेपालीको उपस्थिति दैनिक बढ्दो क्रममा रहेको छ।
सहयोगप्रति धन्यवाद व्यक्त गर्दै, विपिनकी बहिनी पुष्पाले “हाम्रो परिवारलाई यो कठिन समयमा ठूलो हौसला मिलेको छ” भन्नुभएको छ। उहाँले विपिन दाइको रिहाइका लागि आफ्नो अभियान अझै निरन्तर रहने बताउँदै इजरायलमा रहेका नेपाली समुदायले देखाएको नैतिक, आर्थिक र भौतिक सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com