काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नीति, धारणा र दृष्टिकोण प्रत्यक्षरूपमा नागरिक र सञ्चारमाध्यमहरूसँग बाँड्न ‘खुल्ला आँगन’ कार्यक्रमको सुरुआत गरेको छ। पार्टी कार्यालयको प्रांगणमा साउन १६ देखि पहिलो श्रृंखलामार्फत यस नवीन प्रयोगको औपचारिक आरम्भ गरिएको हो।
पार्टीका अनुसार ‘खुल्ला आँगन’ हरेक शुक्रबार अपरान्ह ४ बजेदेखि साँझ ६ः३० बजेसम्म सञ्चालन हुनेछ, जहाँ आम नागरिक, पत्रकार तथा रास्वपाका समर्थकहरूले पार्टीका शीर्ष नेतृत्वसँग मुक्त शैलीमा संवाद गर्न पाउनेछन्। मनमा उब्जिएका जिज्ञासाहरू राख्न, नीतिगत सुझावहरू दिन र आलोचनात्मक टिप्पणीहरूसमेत व्यक्त गर्न यो मञ्च खुला रहनेछ।
रास्वपाले कार्यक्रमबारे भनिएको वक्तव्यमा उल्लेख गरेको छ —
“यो मञ्च सबैका लागि खुला, सम्मानजनक र संवादशील हुनेछ । हामी देश बदल्ने सपना बोकेका प्रत्येक नागरिकलाई विचार, सुझाव, जिज्ञासा वा आलोचनासहित सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौं।”
पहिलो संस्करणमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लीमा अधिकारीसहित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन मन्तव्यमा महामन्त्री बुर्लाकोटीले कार्यक्रमको भाव, उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए ।
उनले भने, “जनतासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने र उनीहरूको आवाजलाई पार्टी नीति निर्माणमा समेट्ने हाम्रो अभिप्राय हो। यो प्लेटफर्म पत्रकार, शुभचिन्तक र सदस्यहरू सबैका लागि हो जहाँ सुझाव मात्र होइन, आलोचना पनि सुन्न तयार छौं।” पहिलो श्रृंखलाको अपेक्षाकृत प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा अझ बढ्दो सहभागिता र विविध विचारको समावेशमार्फत कार्यक्रमलाई निरन्तरता दिइने रास्वपाले जानकारी दिएको छ ।
रास्वपाको यो प्रयास निश्चय नै नेपाली राजनीतिक संस्कृतिमा संवादको नयाँ परिपाटीको सुरुआतका रूपमा हेरिएको छ — जहाँ पार्टी र जनता एउटै आँगनमा बस्छन् । एक आपसमा खुसि र मुस्कानसंगै गम्भीर चिन्तन पनि सँगसँगै बग्छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com