नेपाल इजरायल डट कम
प्यालेस्टिनी सशस्त्र समूह हमासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा पट्टी कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई अन्य देशमा पुनर्वास गर्ने प्रस्तावलाई ठाडो अस्वीकार गरेको छ। ट्रम्पले यो प्रस्ताव इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटघाटपछि गरिएको संयुक्त पत्रकार सम्मेलनमा राखेका थिए।
ट्रम्पको प्रस्तावमा गाजाको नियन्त्रण अमेरिकाले लिने र युद्धबाट क्षतिग्रस्त क्षेत्रलाई पुनर्निर्माण गरेर ‘अविश्वसनीय’ बनाउने योजना उल्लेख छ। उनले भने, “अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिनेछ र हामी यसको स्वामित्व पनि लिनेछौं।” यद्यपि, इजिप्ट र जोर्डनले अमेरिकाको यस्तो प्रस्तावलाई पहिल्यै नै अस्वीकार गरिसकेका छन्।
प्यालेस्टाइनमा सशश्त्र संघर्ष गर्दै आएको र गाजामा साशन गरिरहेको समूह हमासले यस प्रस्तावलाई ‘जातीय विचार’ भन्दै खारेज गरेको छ। हमास प्रवक्ता अब्देल लतिफ अल-कानोउले भने, “यो अमेरिकी जातीय दृष्टिकोण हो जसले हाम्रा मानिसहरूलाई विस्थापित गर्न खोजेको छ।”
गाजामा २०२३ अक्टोबरमा सुरु भएको युद्धले गाजामा धेरै क्षति पुर्याएको छ। ट्रम्पले युद्धविराम सम्झौतामा आफ्नो भूमिका रहेको दाबी गरेका छन्। इजरायलले भने अमेरिकी प्रस्तावमा केही आशंका जनाएपनि स्वागत नै गरेको छ । नेतन्याहुले ट्रम्पको योजनालाई ‘इतिहास परिवर्तन गर्न सक्ने’ भनेका छन्।
तर प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पनि यस प्रस्तावलाई अस्वीकार गरेका छन्। उनले भने, “प्यालेस्टिनीहरूलाई उनीहरूको मातृभूमिबाट विस्थापित गर्ने कुनै पनि प्रयास प्यालेस्टिनीहरूलाई अस्वीकार्य हुनेछ।”
गाजाका बासिन्दाहरूले पनि ट्रम्पको प्रस्तावको विरोध गरेका छन्। रफाह निवासी हातेम आजमले भने, “ट्रम्पले गाजालाई फोहोरको थुप्रो सम्झनुभएको छ।”
अन्तर्राष्ट्रिय स्तरमा पनि यस प्रस्तावलाई विरोध भएको छ। इजिप्ट, जोर्डन, कतार, टर्की र चीनले पनि यसलाई अस्वीकार गरेका छन्। चीनले भने, “हामी गाजाका बासिन्दाहरूको जबरजस्ती स्थानान्तरणको विरोध गर्छौं।”
२०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा हजारौं मानिसहरूको मृत्यु भएको छ। संयुक्त राष्ट्रका अनुसार गाजामा ४७ हजारभन्दा बढी मानिसहरू मारिएका छन् । गाजाका लगभग सम्पूर्ण भवनहरु ध्वस्त भएका छन भने सम्पूर्ण शहर नै खण्डहरमा परिणत भएको अवस्था छ जसको सम्पूर्ण रुपमा पुनर्निर्माण गर्न सयौं बर्ष लाग्नेछ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com