गाजा पट्टीमा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र महासभाले पास गरेको प्रस्तावलाई प्यालेस्टिनी समूह हमासले स्वागत गरेको छ। महासभाको यो प्रस्तावले ‘तत्काल, बिना शर्त र स्थायी युद्धविराम’ र ‘सबै बन्दीहरूको रिहाइ’को माग गरेको छ।
१५८ देशले समर्थन गरेको यो प्रतीकात्मक कदमलाई अमेरिका र इजरायलले अस्वीकार गरेका छन्। हमासले विज्ञप्तिमा गाजाका नागरिकहरूको मानवीय सहायता र आवश्यक सेवाको पहुँच सुनिश्चित गर्न यो कदमलाई महत्वपूर्ण भनेको छ।
हमासले भनेको छ, “हामी युद्धविरामका लागि कुनै पनि पहललाई सधैं सकारात्मक रूपमा लिन्छौं।” तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकालाई निरन्तर लडाइँका लागि दोष लगाएको छ।
गाजामा इजरायली आक्रमणमा हालसम्म ४४,८३५ भन्दा धेरैको मृत्यु भएको हमासद्वारा सञ्चालित मन्त्रालयको तथ्यांक छ। अपहरित २५१ जनामध्ये ९६ अहिले पनि गाजामा रहेको बताइएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com