विपिन जोशी, जसलाई ७ अक्टोबर २०२३ मा आतङ्कवादी समूह हमासले इजरायलको किबुत्ज अलुमिमबाट कब्जा गरेको थियो , उनको परिवारले यस साता सुरु हुने हिन्दु चाड तिहार अघि उनको रिहाइको लागि अपिल गरेको छ ।
इजरायलमा रहेको नेपाली दूतावासद्वारा जारी गरिएको भिडियोमा विपिनकी बहिनी पुष्पा जोशीले चाडपर्वको समयमा आफ्नो दाजुलाई भेट्ने आशा व्यक्त गर्दै भनेकी छिन्, “म यस चाडमा पनि मेरो दाजुको प्रतीक्षा गरिरहेकी छु। कृपया उनलाई सुरक्षित रूपमा फर्काइदिनुहोस्।” उनले थपिन्, “मेरो दाइ घर फर्किने आशामा यो तिहारमा पनि म बाटो हेर्दै छु ” ।
तिहार दाजु बहिनी तथा दिदी भाइ बिचको आत्मीय सम्बन्धको पर्व हो , यस पर्वमा टाढा टाढाबाट वा परदेशिएका भए पनि दाजु भाइ आफ्ना दिदी बहिनीको हातको टिका र आशीर्वाद थाप्न आउने चलन छ ।
विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले दुवै इजरायली सरकार र नेपाली सरकारलाई उनको सुरक्षित रिहाइको लागि पुनः अनुरोध गरेका छन्। यस क्रममा, पुष्पाले नेपालका लागि इजरायली राजदूत हनान गोदारलाई आफ्नो आशा र प्रार्थना सुनाउँदै दाइ चाँडै घर फर्कने आशा व्यक्त गरिन्।

त्यसै गरी, विपिनका दाजु किशोर चन्द्र जोशीले पनि हालै काठमाडौँ पुगेर नेपालका विदेश मामिला मन्त्रालयमा विपिनको अवस्थाबारे जानकारी माग गरेका छन्। उनले भने, “एक वर्ष बितिसकेको छ, तर हामीलाई कुनै उत्तर प्राप्त भएको छैन। न त नेपाली सरकारबाट न त इजरायली सरकारबाट विपिनको बारेमा कुनै जानकारी प्राप्त भएको छ।”
यसै सन्दर्भमा पोहोर हमासद्वारा अपहरणमा परेका बन्धकहरू र हराइरहेका मानिसका आफन्तहरूको समूह (Hostages and Missing Families Forum) ले उनीहरूको रिहाइ प्रक्रिया दबाब दिन इजरायलमा एक कार्यक्रमको आयोजना गरेका थिए । सो कार्यक्रममा नेपाली राजदूतावास तेल अविवका कार्यवाहक राजदूत श्री कुमारबहादुर श्रेष्ठले सम्बोधन गर्नुहुँदै विपिन जोशीको परिवारको मार्मिक भिडियो पनि देखाउनु भएको थियो ।
कार्यवाहक राजदूत श्रेष्ठले सो कार्यक्रममा नेपालको सुदूर पश्चिमाञ्चल विश्वविद्यालयबाट सुन्दर भविष्यको कल्पना गर्दै इजरायलमा कृषि अध्ययन गर्न आएका विद्यार्थी विपिन जोशीको सपना यति बेला गाजाको कुनै सुरुङमा हराइरहेको बताउँदै उनी लगायत अन्य बन्धकहरूको उद्धारको लागि सम्बद्ध पक्षहरूलाई सहमति तथा युद्ध बिराम जस्ता उपायहरू अपनाउन अनुरोध गरे । उनले अक्टोबर २६ विपिन जोशीको जन्मदिन पनि भएको भन्दै उनी जहाँ भए पनि उनको सु स्वास्थ्य तथा सुरक्षाको कामना गरे ।

७ अक्टोबरमा एक वर्ष पूरा भएको यस द्वन्द्वले अपहरितहरूको परिवारलाई अझै पनि प्रतीक्षामा राखेको छ, जहाँ जारी हिंसाले विपिन लगायत अन्य बन्धकहरूको रिहाइको सम्भावना झन् कठिन बनाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com