नेपाल इजरायल डट कम / जेरुसलेम – शुक्रबार बिहान तेल अवीवको केन्द्रमा ड्रोन विस्फोट भएको घटना हुथी विद्रोहीहरूले जिम्मेवारी लिएका छन्, जसमा एक व्यक्तिको मृत्यु भएको छ। इजरायली सेनाले उक्त ड्रोन ईरानमा निर्मित रहेको र यमनबाट प्रक्षेपण गरिएको विश्वास गरेको छ।
सेनाको वक्तव्य अनुसार, “प्रारम्भिक अनुसन्धानले तेल अवीवमा भएको विस्फोट मानव रहित विमान (UAV) को प्रपेक्षण बाट भएको देखाएको छ। यो घटनाको विस्तृत समीक्षा भइरहेको छ।” सेनाले इजरायली हवाई क्षेत्रको सुरक्षा बढाएको छ तर नागरिक रक्षाका लागि नया उपाय र आदेश भने दिएको छैन। इजरायलमा यस्तो प्रकृतिको आक्रमण पहिलो भएको समेत सेनाले जनाएको छ ।
रक्षा मन्त्री योअव गलान्टले उक्त आक्रमणको प्रतिक्रियामा “हिसाब बराबर गर्ने” प्रतिज्ञा गरेका छन्। यस आक्रमणमा १० जना घाइते भएका छन् भने एक व्यक्ति हताहत भएका छन । विभिन्न प्रकृतिका क्षेप्यास्त्र आक्रमण हुँदा साइरन बज्ने गरेकोमा यसपटक साइरन समेत निष्क्रिय भएकोले तेल अवीववासी त्रसित भएका छन ।
हुथी विद्रोहीहरूले आफ्नो “यूएभी बल” ले तेल अवीवको जाफा क्षेत्रको एक महत्वपूर्ण लक्ष्यमा आक्रमण गरेको बताएका छन्। यो महिना अघिमात्र, इजरायली सेनाले लाल सागरको एलात बन्दरगाहतर्फ गइरहेको एक हुथी ड्रोनलाई फाइटर जेटले खसालेको थियो।
यो आक्रमणले तेल अवीवका बासिन्दाहरूलाई झस्काएको छ, जबकि लेबनानको सिमानामा हिजबोल्लाहको आक्रमणको डर र गाजासँगको सिमानामा रकेट आक्रमणको सतर्कता कायम छ।
घटनास्थलको फुटेजले फुटपाथमा टुटेको सिसा देखाएको छ। विस्फोटको कारण एउटा भवनमा क्षति पुगेको छ, जुन अमेरिकी दूतावासको नजिक छ। आपतकालीन सेवाहरूले विस्फोट बिहान ३.१५ बजे भएको जनाएको छ।
पुलिसले घटनास्थलमा आक्रमणमा परि मरेको व्यक्तिको शव फेला पारेको छ ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com