काठमाडौं : पछिल्लो समय बढ्दो अमेरिका–इरान तनावबीच एक नेपालीसहित विभिन्न खाडी मुलुकमा गरी ८ जना नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार इरानले विवादित होर्मुज क्षेत्रबाट एक नेपालीलाई नियन्त्रणमा लिएको छ भने खाडीका अन्य मुलुकमा थप सात जना नेपाली पक्राउ परेका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले इरानले एक पानीजहाजका सबै सदस्यलाई पक्राउ गर्दा नेपाली नागरिक अमृत झा पनि त्यसमा परेको जानकारी दिए। उनले उक्त घटना स्ट्रेट अफ होर्मुज क्षेत्रमा भएको बताए, जुन विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक हो।
हाल अमेरिका र इरानबीचको तनावका कारण यो क्षेत्र थप संवेदनशील बनेको छ। इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले होर्मुज क्षेत्रबाट हुने तेल आपूर्ति प्रभावित बनाएको बताइएको छ।
यस्तै, अमेरिका–इरान द्वन्द्वकै बीच खाडी मुलुकहरूमा थप सात नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार सामाजिक सञ्जालमा युद्धसम्बन्धी तस्बिर तथा भिडियो पोस्ट गरी अफवाह फैलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्राप्त विवरणअनुसार संयुक्त अरब इमिरेट्स (यूएई) मा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका छन्। मन्त्रालयले सबै घटनाबारे सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको जनाएको छ।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com
























