नेपाल इजरायल डट कम, इजरायल ।
इजरायलस्थित नेपाली राजदूतावासको आयोजनामा २५६९औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय भेसाक दिवस (International Day of Vesak) भव्य रूपमा सम्पन्न भएको छ। सो अवसरमा इजरायलका लागि नेपाली राजदूत प्रा. डा. धन प्रसाद पण्डितले वैश्विक सन्दर्भमा बुद्धका शिक्षाहरूको सान्दर्भिकता र व्यावहारिक महत्वमाथि प्रकाश पार्नुभयो।
हर्चेलिया स्थित राजदूत निवासमा आयोजित उक्त विशेष कार्यक्रममा, महामहिम पण्डितले भगवान गौतम बुद्धको जीवन, दर्शन र मानवता प्रतिको योगदानको स्मरण गर्दै वर्तमान विश्वका लागि उहाँका सन्देशहरू शाश्वत मार्गदर्शक हुने उल्लेख गर्नुभयो। “बुद्धको मार्ग केवल एक आध्यात्मिक आदर्श मात्र होइन, यो मेलमिलाप, पारस्परिक समझदारी र दिगो शान्तिको व्यावहारिक आधार हो। आजको द्वन्द्वग्रस्त र ध्रुवीकृत विश्वमा, बुद्धको शिक्षाले नै मानवतालाई एकतामा बाँध्न सक्छ।” उहाँले आफ्नो मन्तव्यमा भन्नुभयो ।
राजदूत पण्डितले भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकै दिन वैशाख शुक्ल पूर्णिमाका दिन घटेको दुर्लभ ऐतिहासिक संयोगको स्मरण गर्दै यस दिनको विशेष महत्व औंल्याउनुभयो। साथै, उहाँले बुद्धका शिक्षाहरू — विशेषगरी अहिंसा, करुणा, सहिष्णुता र प्रज्ञा — आजको समयका लागि झनै प्रभावकारी सिद्ध हुन सक्ने बताउनुभयो।
उहाँले अक्टोबर ७, २०२३ यता इजरायलमा बन्धक बनाइएका निर्दोष व्यक्तिहरूको सुरक्षित मुक्तिको कामना गर्दै नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता तथा मानवीय सहानुभूति प्रकट गर्नुभयो।
“हामीले हाम्रो भविष्यको कल्पना गर्दा बुद्धको करुणामयी दृष्टिकोणमार्फत शान्तिको खोजी गरिनुपर्छ,” भनी उहाँले जोड दिनुभयो, “जहाँ युद्ध होइन, समझदारीको माध्यमबाट द्वन्द्व समाधान हुन्छ; र जहाँ विभाजन होइन, मानवताको साझा गरिमा प्रमुख हुन्छ।”
उक्त समारोह नेपाली राजदूतावास इजरायलको आयोजनामा, गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायल, नेपाल आदिवासी जनजाति महासंघ इजरायलको संयोजनमा तथा इजरायलस्थित विभिन्न नेपाली संघसंस्थाहरूको सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली कूटनीतिक प्रतिनिधिहरू, पूर्व इजरायली राजदूत हनान गोदर, सद्भावना दूत नदाभ बेन यहूदा, इजरायली एअर फोर्स अफिसर अलिसा गौतम, इजरायलका सरकारी अधिकारी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बुद्ध जयन्तीको अवसरमा भगवान बुद्धको पूजा, आराधना, प्रवचन तथा बौद्ध दर्शनमाथि विचार विमर्श गरिएको थियो। कार्यक्रममा आपसी सद्भाव, भातृत्व र विश्व शान्तिको सन्देशलाई आत्मसात् गर्दै बुद्ध शिक्षाको प्रचार–प्रसारमा सबैले योगदान दिनुपर्नेमा जोड दिइयो।
नेपाल इजरायल डट कम - इजरायलमा रहेको नेपाली समुदायमा हुने विविध गतिविधि, सूचना र जानकारी पस्कने अनलाइन पत्रिका हो । info@nepalisrael.com